चुनाव नजिकिँदै गर्दा बीना मगरमाथि नियोजित भ्रम फैलाइएको नेकपाको आरोप

कञ्चनपुर । जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रमसँगै आउँदो २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। संविधान र लोकतन्त्रमा विश्वास गर्ने दलहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) समेत सशक्त चुनावी अभियानमा जुटिरहेको छ।

यसै सन्दर्भमा नेकपाको तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ की उम्मेदवार महिला नेतृ बीना मगर चुनावी मैदानमा सक्रिय रहँदै जनसमर्थन बटुलिरहेकी छन्। उम्मेदवारप्रति बढ्दो जनलहरसँगै केही असन्तुष्ट तत्वहरूले नियोजित ढङ्गले दुष्प्रचारको सहारा लिएको नेकपाले जनाएको छ।

नेकपा कञ्चनपुर-१ ले जारी गरेको विज्ञप्तिमा ‘मिन गुरुङ’ नामबाट फेसबुक सञ्चालन गर्ने व्यक्तिले बीना मगरविरुद्ध बेल्जियममा पाँचवटा रेस्टुरेन्ट रहेको भनी फैलाएको भिडियो पूर्णतः कपोकल्पिक, झुटा र आधारहीन रहेको स्पष्ट पारिएको छ। उक्त दुष्प्रचार केही सञ्चारमाध्यमका सामाजिक सञ्जाल पेजमार्फत बिना तथ्य र प्रमाण शेयर हुनु गम्भीर विषय भएको पार्टीको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, “उम्मेदवारप्रति जनलहर बढिरहेका बेला स्वदेशी प्रतिक्रियावादी समूहले विदेशमा रहेका नेपालीलाई प्रयोग गरी हुँदै नभएका भ्रम फैलाउने कार्य सफेद झुट हो।” यस्ता सामग्रीको बिना पुष्टि सम्प्रेषणले स्वयम् नेपाली सञ्चार जगतको विश्वसनीयता र गरिमामा आँच पुर्‍याउने नेकपाको ठहर छ।

पार्टीले विदेशमा बसोबास गर्ने नेपालीमार्फत नियोजित दुष्प्रचार गराउने बदलियत शैलीको राजनीति प्रति घोर निन्दा एवं भर्त्सना गर्दै चुनावको मुखमा झुटा, काल्पनिक र षड्यन्त्रमूलक आरोप लगाई मानमर्दन गर्ने कार्य तत्काल रोक्न आग्रह गरेको छ।

नेकपा कञ्चनपुर-१ ले यस्ता गतिविधि नरोकिए कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी समेत दिएको छ। साथै पार्टी र उम्मेदवारविरुद्ध फैलाइने कुनै पनि भ्रम र दुष्प्रचारमा विश्वास नगर्न क्षेत्रवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई अपिल गरेको छ।
विज्ञप्तिमा संयोजक देवीलाल चौधरीद्वारा हस्ताक्षरित विज्ञप्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित