धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको पाँचौँ साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको छ। पत्रकारिताको वर्तमान अवस्था, प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा तथा संगठन सुदृढीकरणका विषयमा केन्द्रित साधारण सभामा महासंघका पदाधिकारी, जिल्ला शाखाका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रदेश अध्यक्ष भरतबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नजिर मियाँ तथा विशिष्ट अतिथिका रूपमा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष निता पण्डित, लुम्बिनी प्रदेश अध्यक्षलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मियाँले सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, स्रोत-सम्पदा र विकास सम्भावनाको प्रशंसा गर्दै आफूले कल्पना गरेकोभन्दा निकै फरक र समृद्ध क्षेत्रका रूपमा सुदूरपश्चिमलाई पाएको बताए। “मैले सुदूरपश्चिमलाई सुदूर र विकट भूभागका रूपमा सोचेको थिएँ, तर यहाँ आएपछि जल, जंगल, जमिन र प्राकृतिक सम्पदाले भरिपूर्ण यो क्षेत्र वास्तवमै ‘सुन्दर पश्चिम’ रहेछ,” उनले भने।
विशिष्ट अतिथिहरूले बदलिँदो सञ्चार परिवेशमा पत्रकारितालाई थप मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि, सकारात्मक सोच र पेशागत हकहितको संरक्षण अपरिहार्य रहेकोमा जोड दिए। महासंघलाई अझ सक्रिय, प्रभावकारी र पत्रकारमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै उनीहरूले संगठनात्मक एकता र पेशागत मर्यादाको महत्वसमेत स्मरण गराए।
साधारण सभाका वक्ताहरूले निजी सञ्चारमाध्यमप्रति राज्यले अवलम्बन गरेका विज्ञापन वितरणसम्बन्धी प्रतिबन्धात्मक तथा विभेदकारी नीतिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। यस्ता व्यवस्थाले स्वतन्त्र पत्रकारिता र निजी सञ्चार क्षेत्रको अस्तित्वमाथि नै चुनौती सिर्जना गरेको उल्लेख गर्दै उनीहरूले सञ्चार क्षेत्रको दिगोपनाका लागि राज्यले निजी मिडियाप्रति सहकार्यात्मक र सकारात्मक नीति अवलम्बन गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा प्रदेश समितिले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरेको थियो। सहभागी पत्रकारहरूले संगठनलाई थप उत्तरदायी, प्रभावकारी र पत्रकारमैत्री बनाउन विभिन्न सुझावसमेत दिएका थिए।
यस अवसरमा कञ्चनपुरका अग्रज पत्रकार चित्राङ थापा, खेम भण्डारी, हरिप्रसाद जोशी, माधव धामी, डीआर पन्त, वीरबहादुर चन्द लगायत सुदूरपश्चिम प्रदेशका पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका अग्रज पत्रकारहरूलाई सम्मान गरिएको थियो।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सम्पन्न पाँचौँ साधारण सभा पत्रकारिताको पेशागत अधिकार संरक्षण, संगठन सुदृढीकरण तथा सञ्चार क्षेत्रका साझा सवालहरूमाथि केन्द्रित रहँदै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।























Discussion about this post