घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउँदै कृष्णपुरको ‘नागरिकसँग मेयर’ अभियान सम्पन्न, झण्डै ३७ हजार नागरिक लाभान्वित

कृष्णपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको “नागरिकसँग मेयर घरदैलो कार्यक्रम तथा नसर्ने रोगको पहिचान अभियान” सफलतापूर्वक सम्पन्न गरेको छ। असार ६ गते कृष्णपुर-१ मा आयोजित विशेष समारोहका बीच अभियानको औपचारिक समापन गरिएको हो।

“स्वस्थ नागरिक, समृद्ध नगर-हाम्रो प्रतिबद्धता, तपाईँको साथ” भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियानले घरदैलोमै पुगेर नागरिकको स्वास्थ्य अवस्था पहिचान गर्ने, नसर्ने रोगको प्रारम्भिक परीक्षण गर्ने तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको थियो।

अभियानअन्तर्गत नगरभित्रका १३ हजार ८९४ घरधुरी समेटिँदा ३६ हजार ९०५ जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। सेवाग्राहीमध्ये ५६.५ प्रतिशत महिला र ४३.५ प्रतिशत पुरुष रहेका छन्।

स्वास्थ्य शाखाका अनुसार ३६ हजार ८११ जनाको रक्तचाप परीक्षण गर्दा १ हजार ८१ जनामा उच्च रक्तचाप देखिएको छ भने ६ हजार ५७५ जनाको सुगर परीक्षण गर्दा ८१९ जनामा मधुमेहसम्बन्धी समस्या पहिचान भएको छ। त्यस्तै, ५ हजार ८० जनाको पिसाब परीक्षण गर्दा ३८६ जनामा सुगर, २५२ जनामा प्रोटिन तथा ६३१ जनामा पीएच असन्तुलन फेला परेको छ।

यसैगरी, ४ हजार १८२ जनामा सिकलसेल परीक्षण, एक वर्षमुनिका ६५१ बालबालिका तथा ४६१ सुत्केरी महिलाको स्वास्थ्य अनुगमन समेत गरिएको थियो।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले अभियानले नगरवासीको स्वास्थ्य अवस्था पहिचान गर्न मात्र नभई स्वास्थ्य सेवाप्रतिको पहुँच र सचेतना वृद्धि गर्न समेत महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

उनले अभियान प्रभावकारी भएको पुष्टि स्वास्थ्य संस्थाहरूमा औषधि लिन आउने सेवाग्राहीको तथ्यांकबाट समेत देखिएको उल्लेख गरे। “घरदैलोमै पुगेर रोग पहिचान गरेपछि धेरै नागरिक उपचारको दायरामा आएका छन्। स्वास्थ्य संस्थाबाट नियमित औषधि लिने बिरामीको संख्या बढेको तथ्यांकले अभियानको सकारात्मक प्रभाव स्पष्ट देखाउँछ,” नगर प्रमुख ओझाले भने।

उनले स्थानीय सरकारको मुख्य दायित्व नागरिकको आधारभूत आवश्यकता पूरा गर्नु रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए। आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिँदै नागरिकको घरदैलोमै सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

स्वास्थ्य शाखाका अनुसार अभियानले नसर्ने रोगको प्रारम्भिक पहिचान, विपन्न नागरिकलाई उपलब्ध उपचार सेवाबारे जानकारी, सरुवा रोगको निगरानी तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। नगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सेवा विस्तार गरी स्वस्थ, सक्षम र समृद्ध कृष्णपुर निर्माण गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित