कञ्चनपुरका तीन किसान ‘भीमदत्त उत्कृष्ट किसान पुरस्कार’बाट सम्मानित

कञ्चनपुर । कञ्चनपुरका तीन जना किसान ‘भीमदत्त उत्कृष्ट किसान पुरस्कार-२०८२/८३’ बाट सम्मानित भएका छन्। सुदूरपश्चिम प्रदेश सरकार मातहतको कृषि ज्ञान केन्द्र कञ्चनपुरले बेदकोट नगरपालिकाका एक तथा कृष्णपुर नगरपालिकाका दुई किसानलाई उत्कृष्ट कृषकका रूपमा छनोट गरी नगदसहित सम्मान गरेको हो।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख कृषि प्रसार निर्देशक हरि प्रसाद पनेरुका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि उत्कृष्ट किसान छनोट गरी बेदकोट नगरपालिका-५ धरमपुरका कलुवा कामी, कृष्णपुर नगरपालिका-४ का सुरेन्द्र चौधरी र पुष्पा कुमारी कलौनीलाई जनही रु २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ।

पुरस्कृतमध्ये कलुवा कामी तरकारी खेती, सुरेन्द्र चौधरी व्यावसायिक केराखेती र पुष्पा कुमारी कलौनी भैँसीपालनतर्फ उत्कृष्ट योगदानका आधारमा सम्मानित भएका हुन्।

निर्देशक पनेरुले कृषि पेशालाई सम्मानित र मर्यादित बनाउँदै युवापुस्तालाई स्वदेशमै कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले यस्तो पुरस्कार कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। उनका अनुसार शुक्रबार जिल्लाका कृषि प्राविधिकहरूसँग कृषि तथ्याङ्क, कार्यक्रम कार्यान्वयन तथा आगामी दिनमा उत्कृष्ट किसान छनोटको मापदण्डलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

पुरस्कृत किसानहरूले सम्मानले आफ्नो मेहनतको उचित मूल्याङ्कन भएको अनुभूति दिलाएको बताएका छन्। करिब दुई दशकदेखि व्यावसायिक केराखेती गर्दै आएका किसान सुरेन्द्र चौधरीले पुरस्कारले आफूलाई अझ उत्साह र ऊर्जा थपेको प्रतिक्रिया दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सम्मानित किसानहरूलाई निरन्तर उत्पादनमुखी कार्यमा लागिरहन आग्रह गरे। उनले कृषि क्षेत्रमा अनुदान लिएर प्रभावकारी रूपमा काम नगर्ने प्रवृत्तिले कृषि व्यवसाय अपेक्षित रूपमा फस्टाउन नसकेको उल्लेख गर्दै अब अनुदान वितरण तथा उपयोगमा थप कडाइ गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले स्वदेशी वस्तु तथा सेवाको उत्पादन वृद्धि गर्दै कृषि क्षेत्रमै आत्मनिर्भर बन्नु आजको आवश्यकता भएको उल्लेख गर्दै वास्तविक किसानलाई प्रोत्साहन गर्ने नीतिले मात्रै कृषि क्षेत्रको दिगो विकास सम्भव हुने धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित