बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ की ४६ वर्षीया धनादेवी उपाध्यायमाथि आइतबार घरनजिकै घाँस काटिरहेका बेला बाघले आक्रमण गरेको छ।
बेलडाँडी गाउँपालिका-५ का वडा अध्यक्ष इन्द्रबहादुर खड्काका अनुसार धनादेवी छिमेकीहरूसँग मिलेर घाँस काटिरहेका बेला एक्कासी बाघले आक्रमण गरेको हो। आक्रमणबाट उनको कान र ढाडमा चोट लागेको छ।
घाइते उपाध्यायलाई तत्काल उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लगिएको थियो। वडा अध्यक्ष खड्काले उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए।
पछिल्लो समय बेलडाँडीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रहरूमा बाघलगायत जंगली जनावरको आवतजावत बढ्दै गएको स्थानीयवासीले बताएका छन्। यसले खेतीपाती तथा दैनिक कामकाज गर्ने सर्वसाधारणमा त्रास बढाएको छ।
स्थानीयले सम्बन्धित निकायसँग जंगली जनावरको जोखिम न्यूनीकरण, नियमित निगरानी तथा बस्ती आसपास सुरक्षा उपाय प्रभावकारी बनाउन माग गरेका छन्।




















Discussion about this post