बेलडाँडीका ७७ वर्षीय मनोरथ धामी १० दिनदेखि बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको भावुक अपिल

बेलडाँडी । बेलडाँडी गाउँपालिका-१ निवासी ७७ वर्षीय मनोरथ धामी विगत १० दिनदेखि सम्पर्कविहीन भएका छन् । परिवारले उहाँको खोजीका लागि सबैसँग सहयोगको अपिल गर्दै कुनै पनि जानकारी भए तत्काल खबर गरिदिन आग्रह गरेको छ ।

परिवारका अनुसार धामी असार २३ गते घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए । त्यसको भोलिपल्ट असार २४ गते उनी दोधारा चाँदनी नगरपालिका-१ स्थित आफ्ना आफन्त धर्मसिंह धामीको घर पुगेका थिए । तर, असार २५ गते बिहान करिब ७ बजे त्यहाँबाट पनि कसैलाई जानकारी नदिई निस्किएपछि उहाँ सम्पर्कविहीन बनेका हुन् ।

असार ३२ गते साँझ करिब ६ः३० बजे महाकाली चारलेन पुल क्षेत्रमा धामीले लगाएका कपडा उनकी छोरी राजुदेवी धामीले फेला पारेकी थिइन् । त्यसपछि परिवारले तत्काल प्रहरीलाई जानकारी गराएको थियो।

हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, आफन्त तथा स्थानीयवासीको सहयोगमा खोजी कार्य निरन्तर जारी रहेको छ । महाकाली पुल क्षेत्रमा कपडा फेला परेकाले प्रहरीले उनी महाकाली नदीमा हाम फालेको हुन सक्ने आशंकाका आधारमा नदी तथा आसपासका क्षेत्रमा खोजीलाई तीव्र बनाएको जनाएको छ । यद्यपि, यस विषयमा कुनै आधिकारिक पुष्टि भने भएको छैन ।

बेपत्ता धामीका छोरा जयबहादुर धामीले आफ्ना बुबालाई कसैले देख्नुभएको भए वा उहाँको अवस्थाबारे कुनै पनि जानकारी प्राप्त भए तत्काल नजिकको प्रहरी कार्यालय वा ९७४४२०६३५५ नम्बरमा सम्पर्क गरिदिन सबैमा हार्दिक अनुरोध गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “हाम्रो परिवार विगत १० दिनदेखि ठूलो पीडामा छ । बुबाको खोजीमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं । कसैसँग उहाँबारे सानोभन्दा सानो जानकारी भए पनि कृपया लुकाइदिनुहोस् भन्ने होइन, हामीलाई वा प्रहरीलाई तुरुन्त जानकारी गराइदिनुहोस् । त्यो जानकारीले हाम्रो परिवारमा फेरि खुसी फर्काउन सक्छ।“

यता, परिवारजन, आफन्त, छरछिमेकी तथा शुभेच्छुकहरू मनोरथ धामी सकुशल घर फर्किने आशामा दिनरात प्रार्थना गरिरहेका छन् । बुबाको खोजीमा व्याकुल बनेकी छोरी राजुदेवी धामीले पनि भावुक अपिल गर्दै भन्नुभएको छ, “बुबा, जहाँ हुनुहुन्छ, कृपया सकुशल घर फर्किनुहोस् । हामी सबै तपाईंको बाटो हेरिरहेका छौं ।“

यदि कसैले मनोरथ धामीलाई देख्नुभएको छ वा उहाँको अवस्थाबारे कुनै जानकारी छ भने नजिकको प्रहरी कार्यालय वा ९७४४२०६३५५ नम्बरमा सम्पर्क गरी परिवारलाई सहयोग गरिदिन अनुरोध गरिएको छ । एउटा सानो सूचना पनि एउटा परिवारको ठूलो आशा बन्न सक्छ ञ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित