बेलडाँडी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य जनक सिंह धामी नेतृत्वको उच्चस्तरीय सरकारी टोलीले नदी कटानबाट प्रभावित क्षेत्र तथा बेलौरीस्थित छोटी भन्सार नाकाको स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा नदी नियन्त्रण, सीमा पूर्वाधार तथा स्थानीय नागरिकका समस्यालाई प्राथमिकताका साथ समाधान गर्न सम्बन्धित निकायलाई पहल गर्न आग्रह गरिएको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारी मदन कोइराला, सुरक्षा निकायका प्रमुख, सम्बन्धित सरकारी कार्यालयका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसहितको टोलीले बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिका अन्तर्गतका चौधर नदी, दोदा नदीलगायत कटान प्रभावित क्षेत्र तथा बेलौरी छोटी भन्सार नाकाको स्थलगत निरीक्षण गरेको हो।
अनुगमनका क्रममा नदी कटानका कारण बस्ती र खेतीयोग्य जमिनमा बढ्दो जोखिम, सीमावर्ती क्षेत्रमा सडक तथा पहुँचको अभाव, भन्सार नाकाको पूर्वाधार अवस्था र स्थानीय नागरिकले लामो समयदेखि भोग्दै आएका समस्याबारे प्रत्यक्ष जानकारी लिइएको थियो।
सांसद जनक सिंह धामीले आफ्नो निर्वाचन क्षेत्रमा वर्षेनी नदी कटानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि पर्याप्त बजेट विनियोजन र प्रभावकारी संरचना निर्माण अपरिहार्य रहेको बताए।
उनले निर्वाचन क्षेत्रभित्र रहेका नदी, खोला तथा बेलौरी छोटी भन्सार नाकाका वास्तविक समस्या पहिचान गर्न सम्बन्धित निकायका प्रमुखहरूसहित स्थलगत अनुगमन गरिएको जानकारी दिँदै देखिएका समस्याको समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरिएको बताए।
सांसद धामीका अनुसार नदी कटान नियन्त्रण, तटबन्ध निर्माण, भन्सार नाकासम्म सहज सडक पहुँच विस्तार तथा सीमावर्ती क्षेत्रका नागरिकका दीर्घकालीन समस्याको समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय भइरहेको जनाए ।
प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले अनुगमनका क्रममा देखिएका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गरिने बताए। उनले नदी कटानबाट बस्ती जोखिममा परेको, भन्सार क्षेत्रमा सडक पहुँच कमजोर रहेको तथा आवश्यक पूर्वाधारको अभाव देखिएकाले सम्बन्धित निकायसँग समन्वय गरी प्रशासनिक र प्राविधिक रूपमा समाधानको प्रक्रिया अघि बढाइने जानकारी दिए।
अनुगमन टोलीले स्थानीय तहका नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूको गुनासा र सुझावसमेत संकलन गरेको थियो। स्थानीयवासीले रासायनिक मलको अभाव, लागूऔषध दुव्र्यसनको बढ्दो समस्या, सडक तथा पुल–पुलेसाको कमजोर अवस्था, सीमासम्बन्धी जटिलता, नदी कटान तथा विपद् व्यवस्थापनलाई प्रमुख समस्याका रूपमा उठाएका थिए।
स्थानीय नागरिकले सीमावर्ती क्षेत्रमा विकास पूर्वाधार विस्तार, नदी नियन्त्रणका स्थायी योजना, कृषि उत्पादनका लागि समयमै रासायनिक मल उपलब्ध गराउने व्यवस्था तथा लागूऔषध नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।
अनुगमनमा प्रतिनिधिसभा सदस्य निराशा चौधरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणी गिरी, सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरीका प्रमुख प्रेमप्रकाश सिग्देल, राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रकाश शाह, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय महेन्द्रनगरका इन्जिनियर उत्तमराज सुवेदी, महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका सब-इन्जिनियर गोविन्द भट्ट, सम्बन्धित पालिकाका जनप्रतिनिधि तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो।
स्थानीय समस्या प्रत्यक्ष रूपमा पहिचान गर्दै सम्बन्धित निकायबीच समन्वयात्मक ढंगले समाधान खोज्ने उद्देश्यले गरिएको यस अनुगमनले नदी नियन्त्रण, सीमा व्यवस्थापन, भन्सार पूर्वाधार सुधार तथा स्थानीय विकासका योजनालाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।




















Discussion about this post