धनगढीमा नवविवाहिताको रहस्यमय मृत्यु : हत्या कि आत्महत्या ? पाँच जना पक्राउ, पोस्टमार्टम रिपोर्टको प्रतीक्षा

धनगढी । कञ्चनपुरको बेदकोट नगरपालिका-१ हातीथलाकी २३ वर्षीया पूजा धानुकको धनगढीमा रहस्यमय मृत्यु भएपछि घटनाबारे प्रहरीले बहुआयामिक अनुसन्धान अघि बढाएको छ। विवाह भएको करिब छ महिनामै भएको उक्त घटनाले स्थानीय समुदायमा चासो र आशंका दुवै बढाएको छ।

पूजाको विवाह धनगढी उपमहानगरपालिका-४ न्युरोड टोलका ३१ वर्षीय भरत धामीसँग मागी विवाहमार्फत भएको थियो। विवाहपछि उनी श्रीमान्, सासू-ससुरा, बाजे-बज्यै, नन्द र फुपूसँग संयुक्त परिवारमा बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन ११ गते साँझ करिब ५ बजे पूजालाई घरभित्र सिलिङ फ्यानमा साडीको पासो लगाएको अवस्थामा फेला परेको भन्दै श्रीमान् भरत धामीले प्रहरीसमक्ष बयान दिएका छन्। उनले तत्काल पासो काटेर उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्‍याएको बताए पनि घटनाबारे प्रहरीलाई तत्काल जानकारी गराइएको थिएन।

अस्पतालले साँझ ५ः५० बजे पूजालाई मृत घोषणा गरेपछि मात्रै प्रहरी घटनाबारे जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र प्रसाद तिमिल्सिनाले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि प्राविधिक कारणले नेपालगञ्ज पठाइएको छ। प्रहरीले आज पोस्टमार्टम हुने र त्यसको प्रतिवेदन अनुसन्धानको प्रमुख आधार बन्ने जनाएको छ।

घटनापछि पूजाका माइती पक्षले उनको हत्या गरिएको दाबी गर्दै श्रीमान् भरत धामी, बाजे, बज्यै, फुपू र नन्दसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएका छन्। जाहेरीका आधारमा प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार हाल अनुसन्धान प्रारम्भिक चरणमै रहेको छ। एकातर्फ श्रीमान्ले आत्महत्या भएको र आफूले बचाउने प्रयास गरेको दाबी गरेका छन् भने अर्कोतर्फ माइती पक्षले हत्या भएको आरोप लगाएको छ। दुवै पक्षका दाबीलाई आधार मानेर घटनास्थलको निरीक्षण, परिवारका सदस्यहरूको बयान, अस्पतालको विवरण तथा अन्य प्रमाणहरू सङ्कलन गरी निष्पक्ष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको वास्तविक कारण खुल्ने अपेक्षा गरेको छ। प्रतिवेदनले आत्महत्या, हत्या वा अन्य कुनै कारणमध्ये के हो भन्ने विषयमा अनुसन्धानलाई स्पष्ट दिशा दिने विश्वास गरिएको छ।

हालसम्म प्राप्त विवरणअनुसार पूजा गृहिणी थिइन्। उनका श्रीमान्को पेशासम्बन्धी विवरणसमेत प्रहरीले संकलन गरिरहेको जनाएको छ। अनुसन्धान जारी रहेकाले घटनाको वास्तविकता पोस्टमार्टम प्रतिवेदन र थप प्रमाणका आधारमा मात्रै स्पष्ट हुने प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित