पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका–परासनस्थित डोकेबजारमा यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुल्ने अटो चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
आइतबार अस्थायी ट्राफिक प्रहरी पोस्ट परासनले डोकेबजारबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ६८६११ नम्बरको अटोले यात्रुसँग मनपरी भाडा असुलेको पाइएपछि चालकलाई कारबाही गरेको हो।
अटो चालक गोविन्द साउदले प्रतियात्रु २५ रुपैयाँ भाडा तोकिएको भए पनि दुई जना यात्रुसँग ५ सय रुपैयाँ असुलेको पाइएको प्रहरीले जनाएको छ। तोकिएको भाडाअनुसार दुई यात्रुबाट ५० रुपैयाँ मात्र लिनुपर्नेमा ४ सय ५० रुपैयाँ बढी असुली गरेको पाइएपछि अस्थायी ट्राफिक प्रहरी पोस्ट परासनका ट्राफिक प्रहरी जवान रमेश भट्टले अटो चालकलाई चिट काटेका हुन्।
अस्थायी ट्राफिक प्रहरी पोस्ट परासनका इन्चार्ज प्रहरी सहायक निरीक्षक (प्र.स.नी.) रामसिंह भण्डारीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐनअनुसार चालकलाई कारबाही गरिएको हो। यात्रुसँग तोकिएको भाडादरभन्दा बढी रकम नलिन अटो चालकलाई सचेत गराइएको उनले जानकारी दिए।
परासनमा गरिएको अनुगमनपछि स्थानीयले बेलौरी, बेलडाँडी र दैजी क्षेत्रमा पनि सार्वजनिक यातायातका साधनले तोकिएको भाडा असुले–नअसुलेको नियमित जाँच गर्नुपर्ने माग गरेका छन्। यात्रुसँग मनपरी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्न सम्बन्धित निकायले ती क्षेत्रमा समेत नियमित चेकजाँच र निगरानी बढाउनुपर्ने स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार तोकिएको भाडाभन्दा बढी रकम असुल्ने सवारी साधनमाथि कारबाहीसँगै यात्रुले सहज रूपमा गुनासो गर्न सक्ने व्यवस्था गरिएमा सार्वजनिक यातायातमा हुने मनपरीसमेत नियन्त्रण गर्न सकिनेछ।





















Discussion about this post