कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को २७औँ वार्षिक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न भएको छ। आइतबार संस्थाको सभा हलमा उद्घाटन सत्र र महाधिवेशन सत्र गरी कार्यक्रम सम्पन्न भएको हो।
संस्थाकी अध्यक्ष माया देवी सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि तथा अधिवक्ता उमेश बिष्ट विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक विक्रम जैरूले एनएनएसडब्ल्यूएले स्थापना कालदेखि नै समाजका पछाडि पारिएका तथा सीमान्तकृत समुदायको अधिकार र हितका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो।
उहाँका अनुसार संस्थाले विगत ३७ वर्षदेखि दलित, अपाङ्गता भएका व्यक्ति, पछाडि पारिएका समुदाय, आरक्षणपीडित, मुक्त कमलरी, महिला तथा बालबालिका, एचआईभी तथा कोरोना सङ्क्रमित र कुष्ठरोग प्रभावित व्यक्तिहरूको उत्थानका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सभ्य, समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि संस्थागत प्रयास आवश्यक रहेको बताउँदै जैरूले एनएनएसडब्ल्यूएले लक्षित समुदायको उत्थानसँगै समाज रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। संस्थाका विभिन्न कार्यक्रम तथा पहलबाट समुदायस्तरमा सकारात्मक परिवर्तन देखिन थालेको भन्दै उहाँले आगामी दिनमा अझ प्रभावकारी र नतिजामुखी काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले एनएनएसडब्ल्यूएले यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। राज्यको पहुँच पुग्न कठिन रहेका दूरदराजका समुदायसम्म संस्थाले सेवा पुर्याउँदै आएको उल्लेख गर्दै उहाँले पारदर्शी कार्यशैली र सामाजिक रूपान्तरणमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
कार्यक्रममा संस्थाकी महासचिव रूपा कौशल परियारले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष कविता भट्टले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरणसहित वार्षिक बजेट प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले चालु आर्थिक वर्ष २०८३/८४ का लागि संस्थाको आन्तरिक स्रोत तथा सम्भावित परियोजनाबाट प्राप्त हुने स्रोतलाई आधार बनाएर अनुमानित बजेटसमेत प्रस्तुत गर्नुभएको थियो।
संस्थाका सचिव सुरेश पाल्पालीले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष माया देवी सार्की तथा कर्मचारी विशन देव जोशी र अनिता लावडले स्वागत मन्तव्य राख्नुभएको थियो।
यसैबीच, सातौँ महाधिवेशनले माया देवी सार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा रतन दमाई, महासचिवमा रूपा कौशल परियार, सचिवमा सुरेश पाल्पाली, कोषाध्यक्षमा कविता भट्ट र सहकोषाध्यक्षमा बबिता सुनार चयन हुनुभएको छ।
त्यस्तै, सदस्यहरूमा मिनु नेपाली, रेश्मा राना र सुन्दर नेपाली चयन हुनुभएको छ।
कार्यक्रममा कार्यसमितिका पदाधिकारी तथा सदस्य, साधारण सदस्य, संस्थाका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।
महाधिवेशनले संस्थाको विगतको योगदानको समीक्षा गर्दै आगामी दिनमा सामाजिक न्याय, समानता र पछाडि पारिएका समुदायको अधिकार तथा हितका क्षेत्रमा थप प्रभावकारी र परिणाममुखी ढंगले अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।




















Discussion about this post