रञ्जित लामा/धनगढी । प्रहरी सेवाको मूल जिम्मेवारी अपराध नियन्त्रण मात्रै होइन, नागरिकमा सुरक्षा र कानुनी शासनप्रतिको विश्वास कायम गर्नु पनि हो। यही जिम्मेवारीलाई व्यवहारमा उतार्दै प्रहरी वृत्त सातदोबाटो, ललितपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक वकिलबहादुर सिंहले आफ्नो कार्यक्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।
प्रहरी सेवामा लामो अनुभव बटुलेका सिंहले यसअघि वडा प्रहरी कार्यालय धनगढी तथा त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालय प्रमुखका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्। विभिन्न भौगोलिक तथा सामाजिक परिवेशमा प्रहरी कार्यालयको नेतृत्व गरिसकेका सिंहले अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकसँगको समन्वयमा अनुभव हासिल गरेका छन्।
अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी तथा लागूऔषध नियन्त्रण, जुवातास नियन्त्रणदेखि अपराध अनुसन्धानमा प्रविधिको प्रभावकारी प्रयोगसम्मका काममा सक्रिय भूमिका खेलेको भन्दै सिंहलाई २०८३ साल श्रावण महिनाको ‘Police of the Month’ घोषणा गरिएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरले प्रदान गरेको प्रशंसा–पत्रमा सिंहले श्रावण महिनामा प्रहरी वृत्त सातदोबाटोको कार्यक्षेत्रमा अपराध नियन्त्रण तथा अनुसन्धानका साथै फैसला कार्यान्वयनमा समेत उल्लेखनीय योगदान पु¥याएको उल्लेख छ। उनको कार्यसम्पादनले शान्ति सुरक्षा तथा कानुनी शासन कायम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसासमेत गरिएको छ।
सिंहको कार्यसम्पादनको कदर गर्दै प्रदान गरिएको उक्त सम्मानले प्रहरी सेवामा जिम्मेवारीपूर्वक कार्य गर्ने प्रहरी अधिकारीलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ। आगामी दिनमा समेत ललितपुर जिल्लाको अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापनमा सिंहबाट थप प्रभावकारी योगदान हुने विश्वास व्यक्त गरिएको छ।






















Discussion about this post