दार्चुला बिष्टको हत्याका अभियुक्त सार्वजनिक

248
VIEWS

दार्चुला,
मंसिर ४ दार्चुलामा एक युवक मृत भेटिएका थिए । जिल्लाको ब्याँस गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्ट मृत भेटिएका थिए।

उनी मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। मृत भेटिएका विष्टको शरीरमा चोटपटक लागेको थियो। विष्टका आफन्तले हत्या भएको आशंका गरेपछि प्रहरी थप चनाखो भएर यस घटनाको अनुसन्धानमा जुटेको थियो।

दार्चुलाको सदरमुकाम खलंगामा होटल चलाउँदै आएका विष्ट मंसिर २ गते संसदीय चुनावमा भोट हाल्न भनेर घरतर्फ (ब्याँस गाउँपालिका ४ डोकट) गएका थिए। तर, ३ मंसिरको रातिसम्म पनि उनी घर पुगेनन्। उनी ४ गते मतदान गर्नका लागि घर जादैँ थिए। उनको त्यहीँ रात हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

विष्टको हत्या अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत घटनास्थल पुगेको थियो। आज (सोमबार) प्रहरीले अनुसन्धान सकिएको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले हत्या प्रकरणको अनुसन्धान सकिएको भन्दै अभियुक्त पनि सार्वजनिक गरेको छ। नरसिंहको हत्या आरोपमा स्थानीय २५ वर्षीय दिपक विष्टलाई पक्राउ गरेर दार्चुला प्रहरीले सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीकाअनुसार दिपकलाई आजै जिल्ला अदालतमा पेश गरी ७ दिनको म्याद थप पनि गरिएको छ। उनले भने, मंसिर ३ गते राति १० बजेको समयमा दार्चुला तिंकर सडकमा दुबै जना (दिपक र नरसिंह) मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएका रहेछन्, उनीहरुबीच आपसमा विवाद भएपछि दिपकले नरसिंहको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको खुलेको छ।’ दिपकले हत्यापश्चात् नरसिंहको शवलाई २ सय मिटर टाढा खोलामा फालेर ढुंगाले च्यापेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

नरसिंह मंसिर ३ गते बेपत्ता भएका थिए। भोलिपल्ट उनी मतदान गर्न नआएपछि स्थानीयले खोजी गर्दा उनको शव खोलामा भेटाएका थिए। उनी दार्चुला सदरमुकाम खलंगामा विगत १० वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए। उनकी श्रीमति र ४ जना नाबालक छोरीसमेत छन्।

मंसिर ३ गते राति ८ बजेको व्याँस गाउँपालिका ४ डोबस्थित गोदार खोलामा चोटपटक लागेर रगताम्य भई ढुंगाले च्यापेको अवस्थामा मृत लास फेला परेको सूचनापछि प्रहरीले घटनास्थलमा गएर अनुसन्धान सुरु गरेको थियो। हत्या आरोपमा प्रकाउ परेका आरोपित पनि उनकै गाउँले हुन्।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार