कञ्चनपुर,
कञ्चनपु लगायत सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका १८ जना उम्मेदवारको जमानत जफत भएको छ। उनीहरुले एक सय भोट पनि पुगाउन नसकेपछि उनीहरू सबैको जमानत जफत भएको हो।
विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवारको निर्वाचनमा जमानत जफत भएको पाइएको छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवारले उम्मेदवारीको क्रममा १० हजार रुपैयाँ धरौटी राखेका थिए। सो धरौटी जोगाउनका लागि उम्मेदवारले सदर मतको १० प्रतिशत भोट प्राप्त गर्नुपर्ने थियो तर १८ जनाले एक सय पनि भोट कटाउन नसकेपछि उनीहरूको धरौटी जफत भएको हो।
निर्वाचन आयोगका अनुसार सय भोट पनि पाउन नसक्नेमा कञ्चनपुरमा नेपाल मजदुर किसान पार्टीका नन्दादेवी जोशीले ९३ मत प्राप्त गरी सय पुगाउन सात मतको कमीले पछाडि रहिन्। त्यस्तै स्वतन्त्र उम्मेदवार हरिनादेवी भट्टले ६७ मत, जनमत पार्टीका प्रेमसिंह बडालले ८७ मत प्राप्त गरे। लोकतान्त्रिक समाजवादी पार्टीका अम्बादत्त तिवारीले ९१ मत प्राप्त गरेका थिए ।
कैलाली ५ बाट उम्मेदवारी दिएकी नेपाल मजदुर किसान पार्टीका नन्दाकुमारी दर्लामीमगर (राना) ले ४२ मत प्राप्त गरेका छन्। क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका सीताराम पण्डितले ६२ मत, नेपाल सङ्घीय समाजवादी पार्टीका भीमबहादुर थापामगरले ६१ मत प्राप्त गरेका छन्। जनता प्रगतिशील पार्टीका मोहनदेव मिश्रले ४८, नेपालका लागि नेपाली पार्टीका मानबहादुर चौधरीले ९० मत, राष्ट्रिय जनमुक्ति पार्टीका तिलकबहादुर शाहीले ५४ मत र लोकतान्त्रिक समाजवादी पार्टीका कमलेशकुमार चौधरीले ४८ मत प्राप्त गरेका छन्।
डडेल्धुरामा स्वतन्त्र उम्मेदवार लालबहादुर कठायतले ८५ मत प्राप्त गरेर अन्तिम स्थान प्राप्त गरे। त्यस्तै बैतडीमा पनि नेपाल मजदुर किसान पार्टीका कृष्णप्रसाद गोसाइँले ९० मत प्राप्त गरे। दार्चुलामा पाँच जना उम्मेदवारले एक सय मत पुगाउन सकेनन्। सो जिल्लामा नेपाल मजदुर किसान पार्टीका श्रीविश्वराज छलालले ७८ मत प्राप्त गरे।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका तारादत्त जोशीले ६५ मत प्राप्त गरे। कैलालीमा ठूलो शक्ति बनेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशको पहाडी जिल्ला दार्चुलाबाहेक अन्य जिल्लामा उम्मेदवार उठाएको थिएन। यसैगरी दार्चुलामा राप्रपा नेपालका देवबहादुर बमले सबैभन्दा कम १३ मत प्राप्त गरे। प्रतिनिधि सभा सदस्यतर्फ यो प्रदेशमा उम्मेदवारले प्राप्त गरेको सबैभन्दा कम मत पनि यही हो।
सुदूरपश्चिम प्रदेशको बाजुराबाहेक बाँकी सबै जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना भइसकेको छ। डोटी र अछाममा भने सबै उम्मेदवारले एक सय भोट कटाएका छन्। प्रदेशभरि एक सय नपाएकासहित धेरैजसो उम्मेदवारको धरौटी जफत भएको छ।
Discussion about this post