बेलडाँडी,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रमा बसोवास गर्नेहरुको समस्यालाई ध्यान दिदै खरखडाई खोल्ने भएको छ ।
निकुञ्ज कार्यालयले यही पौष २४,२५ र २६ गते बेलडाँडी रेञ्जरपोष्टबाट खरखडाई पुर्जी वितरण गर्ने र २७,२८ र २९ गते खरखडाई हुने बागेश्वरी उपभोक्ता समितिका कावा अध्यक्ष मोहन प्रसाद बडुले जानकारी गराउनु भयो ।
उहाँका अनुसार निकुञ्जको नियमानुसार खरखडाई हुने बताउदै खरखडाई बाहेक अन्य कुनै पनि गतिविधि गर्न खोजे निकुञ्जको नियमानुसार कार्वाही समेत हुने जनाउनु भयो । निकुञ्ज प्रवेशका लागि मोहनपुर घाट,चाकरघाट, चौधरको काठेपुल, राधापुर, मसानघाट, कालिका मन्दिर नजिक, सिचाई घर नजिकबाट बेलडाँडी क्षेत्रका नागरिकलाई प्रवेश गराउने निकुञ्जको तयारी रहेको बताए । पछिल्लो समयमा जंगली जनावरको विगविगि बढेकाले सावधानी पुर्वक खरखडाईमा जान आग्रह गर्नु भयो । उनले भने साना साना बच्चा, बृद्धहरुलाई जंगल नलग्न समेत बताउनु भयो ।
निकुञ्ज खुलेपछि स्थानीयबासीले वर्ष भरीका लागि घर गोठ छाउन आवश्यक खरखडाइ, सेठा र बाबियो लगाएतका सामाग्रीहरु निकुञ्जबाट काटेर ल्याउने गर्छन । खरखडाइका लागि राजश्ववापत र संरक्षण शुल्क वापत गरी जम्मा ५० रुपैँया पुर्जी लाग्ने भएको छ । सुर्योदय पछि निकुञ्ज प्रवेश गरी सुर्याअस्त हुनु अगावै निकुञ्ज भित्रबाट निस्कीसक्नु पर्ने निकुञ्जको नियम छ ।
खरखडाइ काट्नका लागि हसिँया र डोरी वाहेक अन्य सामाग्री निकुञ्ज भित्र लैजान निकुञ्जले निषेध गरेको छ । खरखडाइका बेला हुन सक्ने चोरी सिकारलाई मध्यनजर गरी निकुञ्जको सुरक्षामा थप कडाई गरिएको निकुञ्जका कार्यालयले जनाएको छ । चेकजाँचका लागि निकुञ्ज कर्मचारी, समितिका प्रतिनिधीहरु समेत रहन सक्ने जनाईएको छ । यसैगरी नेपाली सेनालाई पनि विभिन्न नाकामा तैनाथ गरिने जनाइएको छ ।
Discussion about this post