कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मलाको हत्यामा संलग्न आशङ्कामा केन्द्रीय अनुसन्धान ब्युरोले ५ जनाको रगतको नमुना सङ्कलन गरेको थियो हत्यामा संलग्न आशङ्कामा सङ्कलन गरिएका ३ जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मलाको हत्यामा संलग्न आशङ्कामा केन्द्रीय अनुसन्धान ब्युरोले ५ जनाको रगतको नमुना सङ्कलन गरेको थियो ।
सङ्कलित नमुना परीक्षण गर्दा ३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले बताए ।
डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिक सहित ५ जनाको रगतको स्याम्पल सङ्कलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो ।
ब्युरो स्रोतका अनुसार भारतीय नागरिक मोहम्मद इस्लाम नामका दुईजना र एकजना भीमदत्त नगरपालिकाका स्थानीयको रिपोर्ट नेगेटिभ आएको छ । प्रहरीले भारतको पिल्भीथबाट मोहम्मद इस्लाम नामका दुई जना भारतीयको रगतको नमुना सङ्कलन गरेर काठमाडौँ ल्याएको थियो ।
कञ्चनपुर स्थित निर्मलाको घर नजिकै तरकारी खेती गर्ने किशानका छोरा मोहम्मद इस्लामसँग नाम मिलेपछि दुई जनाको नमुना सङ्कलन गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । २०७९ पुस २० मा उनीहरूको रगतको नमुना सङ्कलन गरेर काठमाडौँ ल्याइएको थियो ।
निर्मला पन्तको १० साउन २०७५ मा बलात्कार पछि हत्या भयो । १३ बर्सिया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिले सम्म १ सय २३ जनाको डीएनए जाँच गरेको छ । तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ । डीआईजी सिंह नेतृत्वको पछिल्लो समितिले डीएनए जाँच गर्न ५ जनाको रगतको स्याम्पल सङ्कलन गरेको थियो । तिमध्ये दुई जनाको रिपोर्ट आएको छैन ।
पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गर्नुपरेको हुनाले केन्द्रीय विधि विज्ञान प्रयोगशालाले दुईजनाको परीक्षण रिपोर्ट दिन सकेको छैन । आरोपी पहिचान नहुँदा सम्म सिआईबीले अनुसन्धान जारी राख्ने एसपी थापाले बताए । उनि भन्छन्–‘भजाइनल स्वाब सँग डीएनए मिल्नुको विकल्प छैन ।’
Discussion about this post