कञ्चनपुर,
सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। सरकारले बिहीबार राजीनामा स्वीकृत गरेको हो।
प्रहरी प्रधान कार्यालय नक्सालले राजीनामा पत्र गृह मन्त्रालयमा पठाएको थियो। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार अपरान्ह सिंहको राजीनामा स्वीकृत गरेको स्रोतले जनाएको छ। राजीनामा स्वीकृत भएर फायल फिर्ता आइसकेको छ।
एआईजी बढुवाको तयारीमा रहेका सिंहले उमेरको विषयमा विवादमा तानिएपछि राजीनामा दिएका थिए।
किताबखानामा भएको रेकर्डमा भन्दा उनको नागरिकतामा डेढ वर्ष बढी उमेर भएको पुष्टी भएपछि बर्खास्तमा पर्नु अघि नै सिंहले राजीनामा दिएका हुन्।
जन्म मिति र शैक्षिक प्रमाण पत्र समेत नक्कली रहेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उजुरीमा छानबिन सुरु भएपछि सिंहले राजीनामा दिएका हुन्।
सिंह पहिलो नम्बरमा एआईजीमा बढुवा भएर आगामी चैत ११ गतेदेखि प्रहरी संगठनकै नेतृत्व गर्ने योजनामा थिए। त्यसका लागि उनले प्रधानमन्त्रीसँग कुरा मिलाइसकेका थिए।
देउवा सरकारले उनलाई आईजीपी बनाउनकै लागि यसअघि डीआईजीमा बढुवा गर्दा वरीयतामा अगाडि ल्याएको थियो।
२०५१ सालमा प्रहरीमा भर्ना हुँदै उनी मापदण्डभन्दा बढी उमेरको भएको खुलेको छ।
एसएसपीबाटै घर जानुपर्ने अवस्थाका सिंहलाई कारबाही भएको भए डीआईजीबाट घटुवा गर्ने सम्भावना थियो। तर उनले यी कारबाही हुन सक्ने देखेर पहिल्यै राजीनामा दिएका हुन्।
Discussion about this post