बेलाैरीका बड्घर, भलमन्सा, गुरुवा तथा चिराकीहरूलाई कानुन सम्बन्धी सचेतना गराईएको छ ।
थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति कञ्चनपुरको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमको सहकार्यमा आइतबार बेलाैरीमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा अधिवक्ता जोहारीलाल चौधरीले संविधान तथा कानुनको विषयमा, राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख हरि प्रसाद ज्ञवालीले मानवअधिकारका विषयमा र थारु कल्याणकारिणी सभा कञ्चनपुरका जिल्ला सल्लाहकार बल बहादुर डगौराले बड्घर भलमन्सा प्रथाको इतिहास र महत्त्वको विषयमा प्रशिक्षण दिनुभएको थारु कल्याणकारिणी सभा कञ्चनपुरका जिल्ला अध्यक्ष सुनिता चौधरीले बताउनु भयो छ ।
प्रशिक्षण कार्यक्रममा सहभागी बड्घर, भलमन्सा, गुरुवा तथा चिराकीहरूले संविधान, कानुन र मानवअधिकार सम्बन्धी जानकारी पाउँदा अब गाउँ टोलमा न्याय निरूपण गर्दा सहज हुने बताउनु भयो।
थारु समुदायमा गाउँ समाजमा हुने गतिविधिहरूमा बड्घर, भलमन्सा, गुरुवा तथा चिराकीहरूको अग्रणी भूमिका रहने गरेको छ । प्रशिक्षण कार्यक्रम पूर्व आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उहाँहरूलाई कानुनी मान्यता दिनुपर्छ भन्ने उद्देश्यले गत वर्ष बेलौरी नगरपालिकाले यस सम्बन्धी ऐन राजपत्रमा प्रकाशन गरेको स्मरण गराउनु भयो ।
अन्य पालिकाहरूमा समेत ऐन ल्याउन प्रयास गरिए पनि राजपत्रमा प्रकाशन भएको देखिँदैन । त्यसलाई समेत मध्यनजर गरेर थारु कल्याणकारिणी सभाले यस सम्बन्धी ऐन ल्याउन पहल गरिरहेको जिल्ला अध्यक्ष सुनिता चौधरीले बताउनु भयो ।
प्रदेश सरकारको सहकार्यमा कानुन सम्बन्धी प्रशिक्षण कार्यक्रम बेलौरीमा पहिलो पटक आयोजना गरिएको बताउँदै उहाँले आगामी दिनमा समेत बड्घर, भलमन्साहरूलाई कानुनी मान्यता दिनुपर्ने माग सहित यस सम्बन्धी अभिमुखीकरण गरिने उहाँको भनाइ छ ।























Discussion about this post