नेपालमा जलविद्युत परियोजना निर्माणमा सहयोग गर्न विश्व बैंक र एसियाली विकास बैंक एडिबी ले इच्छा व्यक्त गरेका छन्।
बुधबार अर्थमन्त्री प्रकाशशरण महतसँग विश्वबैंक र एसियाली विकास बैंकका अधिकारीहरूले भेट गरी जलविद्युत र सडक क्षेत्रको विकासका लागि सहयोग गर्ने इच्छा व्यक्त गरका हुन्।
‘एसियाली विकास बैंकले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन्,’ भेटपछि अर्थमन्त्री महतले भने।
त्यस्तै सडक आयोजनाहरूमा पनि बजेट सहयोग गर्न इच्छुक देखिएको अर्थमन्त्री महतले जानकारी दिए।
छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन्। विश्व बैंक र एडिबीको सहयोगमा सञ्चालित परियोजनाको कार्यान्वयनबारे उनीहरूले चासो राखेका थिए। नयाँ विकास परियोजना र कार्यक्रमका विषयमा पनि छलफल भएको अर्थमन्त्री महतले जानकारी दिए।
अर्थमन्त्री महतले नेपाललाई सहुलियतपूर्ण ऋण प्रदानलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
‘उहाँहरुले अझै धेरै सहयोग गर्न चाहेको बताइरहँदा हामीलेअनुदान र सहुलियतपूर्ण ऋणलाई प्राथमिकतामा राख्ने भनेका छौं, यसमा उहाँहरु पनि सहमत हुनुहुन्छ,’ उनले भने।
नेपालको समग्र आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे पनि विश्व बैंक र एडिबीले चासो देखाएका छन्।
अर्थतन्त्रमा देखिएका समस्या समाधान र मुख्यगरी खर्च गर्ने क्षमतामा देखिएको समस्यालाई बिस्तारै हटाउँदै जानेबारे प्रतिवद्ध रहेको अर्थमन्त्री महतले बताए।
अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरु, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थालेका छन्।
तत्कालीन अवस्थामा अर्थतन्त्रमा खस्किएको मनोबल उकास्नु आफ्नो पहिलो काम हुने पनि उनले बताउँदै आएका छन्।
Discussion about this post