कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश स्तरका योजना अब वडाबाटै छनौट गरेर कार्यान्वयन गर्ने तयारी अघि सारेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८०÷०८१ का लागि संचालन गर्ने योजना वडाबाटै छनौट गरेर कार्यान्वयन गर्ने भएको हो । त्यसका लागि प्रदेश सरकारले प्रादेशिक निर्वाचन क्षेत्र स्तरिय योजना तर्जुमा गोष्ठी गरिरहेको छ ।
कञ्चनपुरमा पनि प्रदेश सरकारले प्रदेश मातहत रहेका कार्यालयलाई प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठी गर्न जिम्मा लिएको छ । प्रदेश निर्वाचन क्षेत्र स्तरिय योजना तर्जुमा गोष्ठी संयोजन समितिको संयोजकको जिम्मेबारी सिँचाई डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख महादेव विष्टलाई दिईएको छ ।
कञ्चनपुरमा समेत प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठी भईरहेको छ । प्रादेशिक निर्वाचन क्षेत्र र उक्त प्रादेशिक निर्वाचन क्षेत्रमा रहेका पालिका लक्षित गरेर गोष्ठी शुरु भएको हो । बिहीबार निर्वाचन क्षेत्र २(क,ख) स्तरिय शुक्लाफाँटा नगरपालिका हलमा गोष्ठी आयोजना गरिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र स्तरिय योजना तर्जुमा गोष्ठी संयोजन समितिको संयोजक महादेव विष्टले प्रदेश सरकारले वडाबाटै छनौट भएका योजना कार्यान्वयन गर्नका लागि सम्बन्धीत निर्वाचन क्षेत्रका जनप्रतिनिधी, प्रदेश सदस्य एव प्रदेश सरकारका कार्यालय प्रमुखसंग छलफल गरेको बताए ।
‘अब प्रदेश सरकारले आगामी आर्थिक बर्षदेखि संचालन गर्ने योजना वडा, पालिका स्तरबाट छनौट भएका योजना नै कार्यान्वयन गर्ने लक्ष्य अघि सारेको छ, ‘उनले भने, ‘वडा, पालिका हुँदै जिल्ला समन्वय समिति मार्फत फेरी प्राथमिकतामा आधारमा प्रदेश सरकारका सम्बन्धीत विषयगत मन्त्रालय हुँदै प्रदेश सभा, मन्त्रिपरिष्दबाट कार्यान्वयन हुनेछन ।’
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख धिरेन्द्र भट्टले प्रदेश सरकारले कार्यान्वयन गर्ने योजना प्रभावका बनाउनका लागि बस्तीस्तर वडाबाट छनौट भएर पालिका, पालिकाबाट जिल्ला समन्वय र त्यहाँ पुगेका सबै योजना र थप योजना आवश्यकताका आधारमा थप गरेर प्रदेश सरकारमा पठाईने बताए ।
‘योजना संकलन, छनौट एव प्राथमिकताका आधारमा कार्यान्वय गरिन्छ, ‘उनले भने, ‘सबै योजना पाईपलाईन अनुरुप अघि बढाउनुपर्ने प्रदेश सरकारको मर्म छ ।’
सुदूरपश्चिम प्रदेश सरकार दिग्र्दशन योजना अनुसुचि ६ अनुरुप प्रादेशिक निर्वाचन क्षेत्र स्तरमा गोष्ठी भईरहेको बताए । प्रादेशिक रणनीति महत्वका योजना कार्यान्वयन गरेर प्रदेशलाई सम्बृद्धि बनाउन भूमिका निर्वाह गर्ने बताए ।
निर्वाचन क्षेत्र २(क र ख)मा भएको प्रादेशिक गोष्ठीमा उक्त निर्वाचन क्षेत्रका जनप्रतिनिधीले वडा, पालिकाबाट छनौट भई प्रदेशमा माग गरिएकायोजना कार्यान्वयनमा जोडदिए ।
शुक्लाफाँटा नगरका मेयर रण बहादुर हमालले पालिकाबाट प्रदेशमा माग गरिएका योजना कार्यान्वयन गर्नुपर्ने बताए । बेदकोट नगरका मेयर भोजराज बोहराले पनि पालिकाबाट गर्न नसक्ने योजना प्रदेशले प्राथमिकताका आधारमा कार्यान्वयमा जोडदिए ।
कृष्णपुर नगरका उपप्रमुख द्रोपती रानाले पनि प्रदेशले पालिकाबाट छनौट भएका योजनामा कार्यान्वयनमा जोडदिईन । शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रशाद भट्ट, कृष्णपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवसिह भण्डारी बेदकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, सहितले योजना कार्यान्वयमा जोडदिएका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्यद्वय बहादुर सिह थापा, गिता चौधरीले पालिकाबाट छनौट भएका योजना सहित आवश्यकता आधारमा प्रदेश सरकारबाट योजना कार्यान्वयमा प्रतिबद्धता जाहेर गरेका छन । २२ बैशाखमा क्षेत्र १(क,ख) बेलौरी र २४ बैशाख क्षेत्र ३(क,ख) जिल्ला समन्वय समिति कञ्चनपुरको हलमा योजना तर्जुमा गोष्ठी गर्दै आगामी बर्षका योजना बारे छलफल गरिनेछ ।
पालिका स्तरबाटै छनौट भएका योजना प्रभावकारी रुपमा प्रदेश सरकारले कार्यान्वयन गर्दा दीगो विकासले गति लिने अपेक्षा गरिएको छ ।
Discussion about this post