काठमाण्डाै,
नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकताको आधारमा भन्दा व्यक्तिको पहुंचको आधारमा रकम बांढेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै सांसद तामाङले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुंचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे ।
एमाले सांसद तामाङले अर्थमन्त्री र अर्थमन्त्रालयसंग आफ्नो निर्वाचन क्षेत्र रहेको कंचनपुरको छोटी भन्सारलाई व्यवस्थित गरेर राजस्व संकलन कसरी संकलन गर्ने भन्ने कुनै योजना नभएको आरोप लगाए ।
‘ कञ्चनपुरको वेलौरी भन्सारले धेरै क्षेत्र ओगट्थ्यो । तर, त्यसलाई व्यवस्थित नगरी सेटिङको भरमा छोटी भन्सार नचलाएको भन्ने सुनेको छु । यो काम सरासर गलत हो । अर्थमन्त्रालय र अर्थमन्त्रीको यसमा ध्यान जान आवश्यक छ ।’ सांसद तामाङले बैठकमा बोल्दै भने ।
सांसद तामाङले बजेटमा सत्तारुढ दल र मन्त्रीको मनपरीको समेत खुलेर विरोध गरे । उनले शहरी विकास मन्त्रालयअन्र्तगत पनि बजेट विनियोजनमा मन्त्रीले मनपरी गरेको आरोप लगाए । शहरी विकासमन्त्री सिता गुरुङले उनको जिल्ला तेह्रथुममा बजेट विनियोजन गरेको भए समग्र जिल्लाको मन्त्री भएको आभाष हुने भन्दै आफ्नो निर्वाचन क्षेत्र लक्षित बजेट ल्याएको भन्दै त्यसले क्षेत्रको जस्तो मात्र मन्त्री भएको सन्देश गएको टिप्पणी गरे ।
उनले भने ‘मेरो क्षेत्रमा बजेट नपरेपनि केही छैन । तर, हिजो घोषित गरेका ठुला–ठुला आयोजनामध्ये एउटा आयोजना मात्र कार्यक्रम सम्पन्न गर्न बजेट ल्याएको भएको हुन्थ्यो भन्ने मेरो कुरा हो । ’
सुदुरपश्चिम सरकारका पूर्वअर्थमन्त्री समेत रहेका सांसद तामाङले शहरी विकास मन्त्रालयलले कंचनपुरको पूर्नवासलाई सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सरकारले जग्गा एकिकरण गरेर पूर्वाधार निर्माण गर्ने भनेर डिपिआर बनाउन करोडौ खर्च गरेपनि सुदुरपश्चिममा बजेट विनियोजन नगरेको भन्दै विरोध जनाए ।
‘सरकारले कंचनपुरको पुर्नवासमा कहिले बजेट विनियोजन गर्दैन । राजा र पंचायत कालमा पुर्नवासमा १० हजार हेक्टरमा व्यवस्थित वस्ती बसालिएको छ । अहिले सरकारले मध्य लोकमार्गले छोएको पहाडी क्षेत्रमा १० वटा स्मार्ट सिटीको योजना राखेको देखियो । नयां शहर भनेर ५२ वटा कार्यक्रम घोषणा समेत गरेको रहेछ ।
त्यसमा १ करोड बजेट विनियोजन गरेको छ । नयां नयां कार्यक्रम घोषणा गर्ने र करोडौं बजेट अरुमा घोषणा गर्ने यो राम्रो देखिएन । मैले पुर्नवासमा बजेट विनियोजन गर्ने विषयमा सबैसंग पहल गरे तर कसैले कुरा सुनेनन् । ’ सांसद तामाङले भने ।
सांसद तामाङले विमानस्थलमा सेटिङ गरेर घरेलु कामदारका रुपमा नेपाली महिलाहरुलाई विदेश पठाउने काम भएको भन्दै असन्तुष्टि समेत जनाए । उनले वैदेशिक रोजगारलाई थप व्यवस्थित वनाउन सरकार लाग्नुपर्ने धारणा राखे । यो प्रकरणमा सबैभन्दा बढी घातक अरवमा रहेका नेपाली दूतावास रहेको सांसद तामाङको भनाई थियो ।
Discussion about this post