महेन्द्रनगर,
कञ्चनपुर उद्योग वाणिज्य संघको कार्यकारिणी समितिका लागि हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार छन् पिताम्बर जोशी । उनी संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।
अमृत डिस्टिलरीमा मदिरा उत्पादन गरेर व्यवसाय गरिरहेका जोशी कञ्चनपुरका परिचित अनुहार हुन् । जोशी दार्चुलाको श्रीपुरमा जन्मिएर भारतको पिथौरागढमा व्यापार सिकेर कञ्चनपुरमा स्थापित भएका छन् ।
अध्ययनका क्रममा पिथौरागढमा रहँदा उनले आफ्ना दाजु जगदिशचन्द्र जोशीलाई कपडा पसलको व्यापारमा सघाएका थिए । उनले त्यहाँ मदिराको कारोबार राम्रो हुने र ग्राहकको भीड लाग्ने गरेको देखे र नेपालमा गएर मदिरा बेच्ने काम थाल्ने ‘आइडिया’ फुराए ।
पिथौरागढबाट मदिरा कारोबारको आइडिया बोकेर दार्चुला फर्किएका जोशीले मदिरा पसल थाले । तर बाहुनको छोराले रक्सी बेच्न थाल्यो भन्दै गाउँ र घरभित्रै असन्तुष्टि देखियो । उनी असन्तुष्टिलाई वास्ता नगरी अगाडि बढिरहे ।
दार्चुलापछि उनी मदिरा बेच्ने डिलर लिएर कञ्चनपुरको महेन्द्रनगरमा आए । महेन्द्रनगरबाट उनले सुदूरपश्चिमका पहाडी जिल्लामा समेत कारोबार विस्तार गरे । जसबाट उनले राम्रो आर्थिक लाभ लिएका थिए ।
अरुले उत्पादन गरेको मदिरा मात्रै बेचेर नहुने भन्दै उनले आफैं मदिरा उत्पादन गर्नतिर ध्यान दिए । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा अमृत डिष्टिलरीबाट मदिरा उत्पादन भएर अहिले देशैभर बिक्रीवितरण हुने गरेको छ ।
जोशीको उद्योगमा ३०० भन्दा बढी जनशक्तिले रोजगारी पाएका छन् । उनको उद्योगले आत्मनिर्भर अर्थतन्त्रमा समेत योगदान गरेको छ ।
Discussion about this post