बेलौरी-बेलौरी उद्योग वाणिज्य संघको टोलीले बेलौरी क्षेत्रका विविध समस्यालाई लिएर एक सातादेखि सिंहदरबारका ढोका घच्घच्याई रहेको छ । आज आइतबार टोलीले अर्थमन्त्री प्रकाश शरण महतलाई बेलौरी क्षेत्रका समस्या समाधान गरिदिन ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएका छन् ।
यस अघि बन्द बेलौरी भन्सार नाका खोल्ने सन्दर्भमा टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई समेत ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाई सकेका छन् ।
कैलाली कञ्चनपुरको पुरानो सदरमुकामका रुपमा रहेको बेलौरी भन्सार तत्काल सञ्चालन र स्तरोन्तिको माग राख्दै सरोकारवाला मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाउने कार्य भइरहेको निर्वतमान वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले जानकारी गराउनु भयो ।
ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले केही दिनमै भन्सारमा लागेको ताला खोल्ने गरी कर्मचारी पठाउने र भन्सार नाका नियमित सञ्चालनमा ल्याउने प्रतिबद्धता जाहेर गरेका छन् ।
केही समय अघि बेलौरी पुगेर बन्द भन्सार खोल्ने प्रतिबद्धता जनाएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नाका खोल्ने विषयमा सिंहदरबारमा टोलीलाई सघाइरहेका छन् । नेता लेखकले बन्द भन्सार खोल्ने विषयमा विशेष जोड दिइरहेको जनाइएको छ ।, टोली संगै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् किसान महासंघ सुदूरपश्चिम प्रदेश संयोजक हरेन्द्र सिंह विष्टले पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेरै कञ्चनपुरको दक्षिणी क्षेत्रका समस्या बारेमा अवगत गराएका थिए ।
वि.सं. १९१७ मा कैलाली कञ्चनपुरको मुख्य भन्सारको रूपमा स्थापित बेलौरी भन्सार कार्यालय वि.सं. २०१९ मा बेलौरीबाट सदरमुकाम महेन्द्रनगर सरेपछि ओझेलमा परेको थियो । भने विगत एक वर्षदेखि उक्त भन्सारमा ताला लगाइएको छ ।
Discussion about this post