महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिकाले एसईई परीक्षाको नतिजा सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरेको छ। नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा फागुन १ गतेदेखि अतिरिक्त कक्षा सञ्चालन गरिएको हो।
माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा मंगलबारबाट अतिरिक्त कक्षा सञ्चालन गरिएको शिक्षा शाखा अधिकृत सुरेश प्रसाद भट्टले बताए। उनका अनुसार कक्षा १० को अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ।
विद्यालय समय बाहेक कम्तिमा ३५ दिनसम्म अतिरिक्त कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई परिपत्र गरिएको उनले बताए। ‘विद्यालय समय बिहान १० बजेदेखि साँझ ४ बजे बाहेक अन्य समयमा अतिरिक्त कक्षा सञ्चालन गर्न परिपत्र गरेका छौं,’ उनले भने, ‘अतिरिक्त कक्षा सञ्चालनका लागि ५ लाख बजेट विनियोजन गरेका छौं।’
अतिरिक्त कक्षाले एसइई परिक्षाको नतिजामा सुधार अपेक्षा गरिएको छ। शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रमुख रणबहादुर महराले बताए।
उनका अनुसार नगरपालिकाले विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै शैक्षिक गुणस्तर सुधारमा जोड दिएको छ। ‘शैक्षिक गुणस्तर सुधार अन्तर्गत एसईईको तयारीका लागि सबै विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरेका हौं,’ उनले भने, ‘अतिरिक्त कक्षाले एसईई परिक्षा दिने विद्यार्थीहरुलाई सहज हुनेछ।’
नगरपालिकाले गत वर्ष पनि एसईईको तयारीका लागि सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा सञ्चालन गरेको थियो।
Discussion about this post