स्ववियु निर्वाचन ०८१ : कञ्चनपुरका ६ क्याम्पसमा मतदान जारी

कञ्चनपुर, ५ चैत्र । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका विभिन्न क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ। जिल्लाका सम्बन्धन प्राप्त ६ क्याम्पसमा मंगलबार त्रिविले तोकेको निर्धारित समयमै मतदान सुरु भएको छ ।

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, रामपुर बहुमुखी क्याम्पस, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया र भानु बहुमुखी क्याम्पस दोधारामा मतदान भइरहेको छ ।

भानु बहुमुखी क्याम्पसका उपप्राध्यापक डम्बर जोशीका अनुसार त्रिविले तोकेको समयमा नै मतदान सुरु भएको छ । कञ्चन बहुमुखी क्याम्पस गुलरियाका क्याम्पस प्रमुख राजेन्द्र भट्टले पनि मतदान प्रक्रिया सुव्यवस्थित रूपमा अघि बढिरहेको जानकारी दिएका छन् ।

यसअघि कृष्ण बैजनाथ र दानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्विरोध चयन भइसकेको छ भने रामपुर क्याम्पसमा केही बेरमा मतदान प्रक्रिया सुरु हुने जनाइएको छ। कृष्ण बैजनाथ झलारीमा नेविसंघ सभापति सहित अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच भागबण्डा भएको छ। दानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्विरोध विजयी भएको छ। रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको सभापति बाहेक अन्य पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।

यस पटक त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पस सहित कञ्चन विद्यामन्दिर सामुदायिक कलेज, जनज्योति, घटाल, उदयसरस्वती, वारिधी, बालजागृति लगायतका क्याम्पसमा निर्वाचन हुन सकेको छैन । सिद्धनाथ विज्ञान क्याम्पसले धम्कीका कारण निर्वाचन स्थगित गर्नुपरेको जनाएको छ भने अनेरास्ववियुले वारिधी र बालजागृतिमा तालाबन्दी गरेको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी (अरिबल) का अनुसार विद्यार्थी नेताहरू छान्ने नर्सरी भएकाले क्याम्पसहरूमा उत्साहजनक रूपमा मतदान भइरहेको छ। अनेरास्ववियु जिल्ला अध्यक्ष अमर धामीले सबै क्याम्पसमा सक्रिय रूपमा निर्वाचन भईरहेको बताए । नेविसंघ अध्यक्ष नरेश पण्डितले निर्वाचन भइरहेको सबै क्याम्पसमा आफ्नो संगठनको उम्मेदवारी रहेको र मतदानमा पूर्णरूपमा सहभागिता जनाइरहेको उल्लेख गरे ।

गत २०७९ सालमा कञ्चनपुरका ८ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो, भने यस पटकको निर्वाचनमा विद्यार्थीहरूको उत्साह झन् बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित