संसदीय व्यवस्था असफल, ०८४ मा चुनाव नहुने नेकपा (बहुमत) को दाबी

कञ्चनपुर, १०चैत्र । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन) ले आगामी २०८४ मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गरेका छन्।

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पुँजीवादी व्यवस्था विरुद्धको जनसंघर्ष अभियानको उद्घाटन गर्दै उनले संसदीय व्यवस्था असफल भइसकेको दाबी गरे। ‘आगामी निर्वाचन संसदीय हुँदैन, भए समाजवादी व्यवस्थाका लागि मात्रै हुन्छ,’ उनले भने, ‘अब सबै दलले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि चुनावमा सहभागिता जनाउनुपर्छ।’

महासचिव बास्तोलाले भ्रष्ट दलाल पुँजीवादी व्यवस्थाले नेपाली जनतालाई शोषण र उत्पीडन गरिरहेको आरोप लगाए। संसदीय व्यवस्थाकै कारण प्रधानमन्त्रीदेखि जनप्रतिनिधिहरू भ्रष्ट भइरहेको उनले दाबी गरे। भारतीय मिडियामा आएको प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा रकम राखेको खबरबारे पनि उनले स्पष्ट पार्न सरकारलाई आग्रह गरे।

उनले कार्यकारी प्रमुख जनताको सिधा भोटबाट चयन हुनुपर्ने, विज्ञबाट मन्त्री बनाउनुपर्ने तथा न्यायाधीश पनि जनताबाटै नियुक्त हुनुपर्ने धारणा राखे। ‘नेपालको न्याय प्रणाली पहुँचविहीन गरिब जनताको हितमा छैन,’ उनले भने, ‘प्रधानन्यायाधीश बन्दा पनि पैसा चाहिन्छ, यो प्रणाली बदल्न आवश्यक छ।’

कार्यक्रममा नेकपा (बहुमत) का स्थायी कमिटी सदस्य देवीदत्त पाण्डेयले संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै प्रतिक्रियावादी शक्ति सक्रिय रहेको भन्दै यस्ता जनविरोधी शक्तिलाई परास्त गर्न पार्टीले गाउँ-गाउँमा अभियान सञ्चालन गर्नुपर्ने बताए।

नेकपा (बहुमत) का सेती महाकाली इञ्चार्ज निर्मलले प्रदेशका सबै जिल्लामा अभियान सञ्चालन गरिने जानकारी दिए। जिल्ला पूर्व इञ्चार्ज हरिस दयालले अभियानलाई देशभर प्रभावकारी रूपमा अघि बढाइने बताए। जिल्ला इञ्चार्ज गणेश रैकालका अनुसार ६ महिनासम्म सञ्चालन हुने अभियान गाउँ-गाउँ र बस्ती-बस्तीमा पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित