काठमाडौँ : सुनचाँदी व्यवसायीहरूले आह्वान गरेको बन्दका कारण काठमाडौँसहित बागमती प्रदेशका सुनचाँदी पसलहरू बुधबार पनि खुलेका छैनन्। राजधानीमा भइरहेको राष्ट्रिय भेलामा सहभागी व्यवसायीहरू आन्दोलनका आगामी कार्यक्रम तय गर्न छलफलमा जुटेका छन्।
महासंघ अध्यक्ष किसान सुनारका अनुसार बिहान ११ बजेदेखि भेला सुरु भई आगामी कार्यक्रमको म्यान्डेट लिइँदैछ। उनले अन्य प्रदेशमा भने पसलहरू खुला रहेको जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार व्यवसायीहरूलाई आन्दोलन स्थगन गर्न आग्रह गरे पनि उनीहरूले बागमतीमा बन्द जारी राखेका छन्। देशभरका व्यवसायीहरू २९ र ३० गतेको राष्ट्रव्यापी बन्दका लागि तयारी अवस्थामा रहेको पनि महासंघले जनाएको छ।
व्यवसायीहरू बजेटमा सुनचाँदी गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। व्यवसायी नरेन्द्र गुप्ताले यस्ता करले उद्योग धराशायी हुने चेतावनी दिएका छन्।
प्रधानमन्त्रीसँगको भेटमा व्यवसायीहरूले आफ्नो माग राखेका थिए भने प्रधानमन्त्री ओलीले संवादबाट समाधान खोज्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
Discussion about this post