छाउगोठमा सुतिरहेकी महिलाको सर्पदंशबाट मृत्यु, कृष्णपुर नगरपालिकाको कडा निर्देशन– १५ दिनभित्र सबै छाउगोठ हटाउन आदेश

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। घरको आँगनमा बनाइएको छाउगोठमा महिनावारीको कारण बसिरहेकी २८ वर्षीया कमला दमाईँ (आउजी) लाई गएराति करिब १२ बजे सर्पले टोकेको थियो।

घटनापछि तुरुन्तै उनलाई सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको भए पनि उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो।

तीन साना सन्तानकी आमा कमलाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा भारतमा छन्। पक्की घर भए पनि कमला महिनावारीका बेला सदाझैं घर बाहिरकै असुरक्षित गोठमा बस्ने गरेको स्थानीयले जनाएका छन्। दुई महिनाअघि मात्रै भारतबाट फर्किएकी कमलाको अनावश्यक जोखिममा परेर मृत्यु हुनु अत्यन्त दुःखद भएको उनीहरूको भनाइ छ।

घटनापछि महिला अधिकारकर्मीहरू आक्रोशित बनेका छन्। उनीहरूले छाउपडी प्रथालाई ‘अमानवीय र आपराधिक’ भन्दै यसको अन्त्यका लागि तत्काल कठोर कदम चाल्न सरकार र स्थानीय निकायसँग माग गरेका छन्।
“महिलालाई यस्तो अवस्थामा बाहिर बस्न बाध्य बनाउनु केवल कुरीति होइन, आपराधिक कार्य हो,” एक अधिकारकर्मीले भनिन्।

नेपालको मुलुकी अपराध संहिता २०७४ अनुसार रजस्वला वा सुत्केरी महिलालाई छाउगोठमा राखेमा ३ महिनासम्म कैद वा जरिवाना हुने कानुनी व्यवस्था छ।

घटना सार्वजनिक भएपछि कृष्णपुर नगरपालिकाले पनि तत्काल सक्रियता देखाएको छ। नगरपालिकाले सबै वडामा १५ दिनभित्र सम्पूर्ण छाउगोठ हटाउन निर्देशन जारी गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ– “समयसीमा भित्र छाउगोठ नहटाउनेलाई १० हजार रुपैयाँसम्म जरिवाना र कानुनी कारबाही गरिनेछ।”

साथै नगरपालिकाले सबै वडाबाट छाउगोठहरूको विवरण संकलन गरी कार्यालयमा बुझाउन पनि निर्देशन दिएको छ।
यो अभियान अन्तर्गत समाजमा गढेको अमानवीय छाउपडी प्रथाको अन्त्य गरिने स्पष्ट सन्देश नगरपालिकाले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित