जंगली हात्तीको आक्रमणमा मालुवेलाका तीन घर ध्वस्त, वडा अध्यक्ष सिंहबाट तत्काल राहत

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ मालुवेलामा हिजो राति जंगली हात्तीको बथान प्रवेश गरी स्थानीय तीन वटा घरमा क्षति पु¥याएको छ । रातिको अन्धकारमै अचानक गाउँ पसेका हात्तीहरूले घरका भित्ता भत्काउनुका साथै खाद्यान्न र भाँडाकुडा समेत नष्ट गरेका छन् ।

सुदूरपश्चिममा पछिल्लो समय जंगली हात्तीको आतंक दिन प्रतिदिन बढ्दै गएको अवस्थामा मालुवेलामा भएको यो घटना पनि निकै त्रासदीपूर्ण भएको स्थानीयले बताएका छन् । यद्यपि, घरधनी परिवारका सदस्यहरू समयमै घर छाडेर भाग्न सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

घटनाबारे जानकारी दिँदै वडा नं. ४ का वडा अध्यक्ष धर्मबहादुर सिंहले गाउँमै हात्तीको त्रास बढिरहेको बताउँदै सम्पूर्ण वडावासीलाई सचेत र सुरक्षित रहन आग्रह गर्नुभयो । उहाँका अनुसार अहिले पनि नजिकैको सिस्ने जङ्गल क्षेत्रमा हात्तीको बथान देखिएको हुँदा बेलुकीपख घरबाहिर विशेष सतर्कता अपनाउनुपर्ने अवस्था छ ।

आकस्मिक घटनाबाट त्रसित पीडित परिवारलाई वडा अध्यक्ष सिंहले राहतस्वरूप तत्काल खाद्यान्नको व्यवस्था मिलाउनुभयो । उहाँले संकटको घडीमा नागरिकलाई नछाड्ने आफ्नो जिम्मेवारी भएको बताउँदै, पीडितका लागि थप सहयोग जुटाउने प्रतिबद्धता समेत जनाउनुभयो ।

“हात्तीको आक्रमण नियन्त्रण गर्नु चुनौतीपूर्ण भए पनि हामी निरन्तर सुरक्षा निकायसँग समन्वय गर्दैछौं । नागरिकको ज्यान र सम्पत्ति सुरक्षित राख्न वडा कार्यालय सधैं अग्रसर हुनेछ,” वडा अध्यक्ष सिंहले भन्नुभयो ।

पछिल्लो समय कञ्चनपुरका विभिन्न स्थानमा जंगली हात्तीले लगातार आक्रमण गरिरहेकाले यसलाई दीर्घकालीन रुपमा नियन्त्रण गर्ने विषयमा स्थानीय सरकार, निकुञ्ज, बन कार्यालय र सम्बन्धित निकायबीच थप पहल आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित