ढोरपाटनको शालग्राम सङ्ग्रहालयमा पर्यटकको भिड, दैनिक ३०० बढी आगन्तुक

ढोरपाटन । बागलुङ नगरपालिका-४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालयमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढेको छ। मानव-निर्मित १०० मिटर लामो सुरुङभित्र सवा एक लाखभन्दा बढी शालग्राम शिला एकै स्थानमा प्रदर्शित गरिनुले पर्यटकको चाप बढेको सङ्ग्रहालय पक्षले जनाएको छ।

मुस्ताङ भ्रमणमा निस्किएका पर्यटकहरू विशेष गरी शालग्राम सङ्ग्रहालय अवलोकनका लागि यहाँ आउने गरेका छन्। सङ्ग्रहालयका संरक्षक ऋषि स्वामी प्रपन्नाचार्यका अनुसार पछिल्लो समय औसतमा दैनिक ३०० पर्यटक यहाँ आउने गरेका छन्।
सार्वजनिक बिदाका दिन यो संख्या एक हजारभन्दा बढी पुग्ने गरेको उनले जानकारी दिए।

पछिल्ला चार महिनामा मात्र २५ हजारभन्दा बढी पर्यटकले सङ्ग्रहालय अवलोकन गरिसकेका छन्। गत वर्ष करिब दुई लाख अवलोकनकर्ता पुगेको तथ्याङ्क सार्वजनिक भएको छ। पाँच वर्षअघि सर्वसाधारणका लागि खुला गरिएको यो सङ्ग्रहालय पर्यटन प्रवर्द्धनका हिसाबले निकै महत्वपूर्ण बन्दै गएको स्थानीयले बताएका छन्।

त्रिशूल आकारमा निर्माण गरिएको सुरुङभित्र शालग्रामसँगै त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति तथा ३०० किलोसम्मका दुर्लभ शालग्राम समेत प्रदर्शित छन्। धार्मिक तथा सांस्कृतिक महत्वका कारण पर्यटकहरूले यहाँको प्रदर्शनीमा विशेष चासो देखाउने गरेको संरक्षक स्वामी प्रपन्नाचार्यको भनाइ छ।

पश्चिम नवलपरासीबाट घुम्न आएकी एलिना खनालले यहाँको धार्मिक महत्व र सङ्ग्रहको विशालताले आफू प्रभावित भएको बताइन्। “कालीगण्डकीमा अहिले शालग्राम भेटिन छाड्यो, तर यहाँको संरक्षणले अचम्म लाग्यो,” उनले भनिन्।

चितवनका टीकाराम पाठकले दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको नक्साले आफ्नो ध्यान आकर्षित गरेको बताए। “पारिवारिक भ्रमणका लागि अत्यन्तै राम्रो ठाउँ रहेछ,” उनले भने।

सङ्ग्रहालय क्षेत्रभित्र श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरलगायतका धार्मिक संरचना निर्माण भएसँगै क्षेत्र धार्मिक–पर्यटन गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।

स्थानीय पर्यटन व्यवसायीका अनुसार, शालग्राम सङ्ग्रहालयको संरक्षण तथा प्रभावकारी व्यवस्थापनले ढोरपाटन क्षेत्रमा पर्यटक आगमन थप बढ्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित