महेश दत्त जोशीद्वारा प्रतिनिधि सभा उम्मेदवारी घोषणा, अनुभव र जनविश्वासको बलियो आधार

कञ्चनपुर । आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र बन्दै गएको बेला नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । यसैक्रममा शुक्लाफाटा नगरपालिकामा बिहीबार सम्पन्न विस्तारित बैठकमा पार्टीका अनुभवी नेता महेश दत्त जोशीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन् ।

जोशीको उम्मेदवारी घोषणासँगै उनको राजनीतिक सक्रियता, सामाजिक प्रतिबद्धता र नेतृत्व क्षमताप्रति पार्टी तथा जनताको विश्वास अझ बलियो भएको देखिएको छ । कञ्चनपुर क्षेत्रका चिरपरिचित नेता जोशीले लामो समयदेखि निरन्तर राजनीति, समाजसेवा र वातावरण संरक्षणको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

जोशीले २०४२ सालमा भारत प्रवासमा अध्ययनरत रहँदा अखिल भारतीय नेपाली विद्यार्थी युनियन (अभानेस्वबियु) मार्फत बामपन्थी राजनीतिमा प्रवेश गरेका थिए । २०४९ सालमा २८ वर्षको उमेरमै नेकपा एमालेबाट तत्कालीन कृष्णपुर गाउँ विकास समितिको उपविजेता निर्वाचित भई जनप्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालेपछि उनको राजनीतिक यात्रा थप सुदृढ हुँदै गएको थियो ।

उनले वडा सदस्य, जिल्ला विकास समिति सदस्य र प्रदेश सभा सदस्यको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । २०७४ सालमा माओवादी केन्द्रबाट कञ्चनपुर क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनले पार्टी संगठन र जनताको पक्षमा प्रभावकारी भूमिका खेलेका थिए । यसले उनको राजनीतिक परिपक्वता र जनउत्तरदायित्वलाई स्पष्ट रूपमा उजागर गरेको छ ।

राजनीतिसँगै जोशी सामाजिक र शैक्षिक क्षेत्रमा पनि सक्रिय छन् । उनी सरस्वती माध्यमिक विद्यालय कृष्णपुर–२ का संस्थापक अध्यक्ष, उदय सरस्वती मावि बैंकका संस्थापक सदस्य तथा कञ्चन क्याम्पस गुलरियाका उपाध्यक्ष रहिसकेका छन् । शिक्षा क्षेत्रप्रति उनको योगदानले स्थानीय विद्यार्थी र समुदायमा सकारात्मक प्रभाव पारेको छ ।

वन, वातावरण र संरक्षणका क्षेत्रमा पनि उनको भूमिका उल्लेखनीय छ । उनी सहिद भीमदत्त पन्त प्रतिष्ठानका संस्थापक केन्द्रीय सचिव, विभिन्न सामुदायिक वन र कृषि सहकारी संस्थाका संस्थापक अध्यक्षका रूपमा काम गरिसकेका छन् । वन्यजन्तु संरक्षण र वातावरणीय पहलमा पुर्‍याएको योगदानको कदरस्वरूप उनी अब्राहम संरक्षण पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

प्रदेश सभामा रहँदा उनले सत्य र यथार्थलाई निर्भीक रूपमा उठाउँदै स्थानीय जनताको आवाज प्रतिनिधित्व गरेका थिए । कुनै सरकार वा शक्तिको चाकरीभन्दा जनहितलाई प्राथमिकता दिने उनको शैलीले मतदाता र पार्टीपंक्तिमा राम्रो प्रभाव छोडेको छ ।

हाल पनि जोशी आफ्नो क्षेत्रमा राजनीतिक सक्रियता, सामाजिक सेवा र वातावरण संरक्षणलाई सँगसँगै अगाडि बढाइरहेका छन् । आगामी प्रतिनिधि सभा निर्वाचनमा उनको उम्मेदवारी अनुभव, प्रतिबद्धता र जनसेवाको प्रतीकका रूपमा हेरिएको छ । उनका नेतृत्व क्षमताले कञ्चनपुरका जनताको आवाज संघीय संसदमा सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित