धनगढी । कैलालीमा एक वडा सदस्यको मृत्यु भएको छ । आइतबार कैलारी गाउँपालिका–८ दुधिया गाउँ निवासी ४२ वर्षीय वडा सदस्य माधुराम चौधरीको मृत्यु भएको हो ।
कैलाली गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीका अनुसार हिजो कैलारीबाट आएका माधुरामको धनगढीमा मृत्यु भएको हो । उनको मृत्युमा आज कैलारी गाउँपालिकाको कार्यालय तथा कैलारी गाउँपालिका अर्न्तगतका सम्पूर्ण कार्यालयहरु एवम् सम्पूर्ण शिक्षण संस्थाहरुमा बिदा दिइएको छ ।
यता कैलाली प्रहरीले भने वडा सदस्यको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै अनुसन्धान थालेको छ । जिप्रका कैलालीका निमित्त प्रवक्ता तथा इन्सपेक्टर सन्तोष बस्यालले घटनाको अनुसन्धान थालिएको जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार हिजो कैलारीबाट धनगढी आएका माधुराम धनगढीको शिवपुरी आसपासमा रहेको आफ्नी साली नाता पर्ने महिलाको कोठामा बसेका थिए ।
प्रेसरको बिरामी समेत रहेका माधुराम अचानक लडेपछि राति नै अस्पताल लगिएकोमा बिहान मृत्यु भएको हो । धनगढीको मायामेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।
यस्तै मृतक माधुरामको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ भने उनकी सालीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
Discussion about this post