लाल बहादुर एस/ माघ १६ – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय आईबीआरडीद्वारा सञ्चालित केन्द्र नम्बर ००५, ००२५ (अरनी चिनिमिल र क गाउँ मिर्मिरे महिला समूह) का सदस्यहरूका लागि एक दिने वनभोज तथा भ्रमण कार्यक्रम पुनर्वास–९ बिचफाटा प्यारातालमा सम्पन्न भएको छ।
शाखा कार्यालयका फिल्ड र कर्मचारी शान्ति तामाङको नेतृत्वमा आयोजना गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागीहरूले रमाइलो समय बिताएका छन्। कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर ८ क गाउँका शेयर सदस्यहरू तथा पुनर्वास नगरपालिका वडा नम्बर २ मा रहेको अरनी बस्तीका सदस्यहरू सहभागी भएका थिए।
प्याराताल, जो कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा भारतसँग जोडिएको पर्यटकीय स्थल हो, हालका दिनहरूमा पिकनिक स्पटका रूपमा निकै चर्चित बन्दै गएको छ। यहाँ वनजंगलको हरियाली, तालको शान्त वातावरण र मनोरम दृश्यले पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ। कार्यक्रमको दौरानमा सहभागीहरूले सामूहिक वनभोज, मनोरञ्जनात्मक गतिविधिहरू, समूह फोटोसेसन तथा आपसी अनुभव आदान–प्रदान गरी खुसीयाली साटेका थिए।
सहभागीहरूले प्याराताल क्षेत्रको प्राकृतिक सौन्दर्य अवलोकन गर्दै नयाँ ऊर्जा प्राप्त गरेको बताएका छन्। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयर सदस्यहरूलाई सामाजिक तथा आर्थिक विकासका अतिरिक्त सामुदायिक घनिष्ठता बढाउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। भविष्यमा पनि यस्ता भ्रमण तथा अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ।
Discussion about this post