उज्यालो नेपाल पार्टी उनेपा का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमअन्तर्गत आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्णाली प्रदेशलाई इन्धन मूल्य वृद्धिमा विशेष सहुलियत दिनुपर्ने बताएका हुन्।
उनले विकट भूगोलका कारण कर्णालीमा दैनिक जीवन यापन नै महँगो पर्ने भएकाले थप इन्धन मूल्य वृद्धि गर्नु उपयुक्त नहुने बताए। “कर्णालीमा आवागमन र पर्यटनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,” उनले भने, “छिमेकी भारतले समेत इन्धनमा मूल्य वृद्धि नगरेको अवस्थामा यहाँका नागरिकमाथि थप भार पार्नु उचित होइन।”
अध्यक्ष घिसिङले वर्तमान दुई तिहाइ सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो पार्टीले सहयोग गर्ने स्पष्ट पारे। उनले आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा कर्णालीको विद्युतीकरण र प्रसारण लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको जिकिर गरे।
उनका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म विस्तार भइरहेको छ। साथै, छोटो समयमै पार्टी गठन हुँदा व्यवस्थापन गर्न नपाउँदै निर्वाचनमा जानुपरेकाले हार व्यहोर्नु परे पनि आगामी चुनावमा उनेपा ठूलो शक्ति बनेर उदाउने र वडा तहसम्म सङ्गठन विस्तार गर्ने उनको भनाइ छ।






















Discussion about this post